आदर्श मिश्रले रुदै भने – मेडिकल कलेज र नारायणी सरकारी अस्पताल को कारण पिता को मृत्यु भयो

0
247

मंगलबार बिहान कमेडियन आदर्श मिश्राका पिता विनोद मिश्राको निधन भएको छ । आदर्शले पिताको मृत्युबारे आफ्नो आधिकारिक युट्युब च्यानलमा सबै बेलीबिस्तार बताएका छन् । उनले आफ्नो पिताको मृत्युका लागि नेशनल मेडिकल कलेज र नारायणी सरकारी अस्पताल जिम्मेवार भएको बताएका छन् ।

उनले भने – बाबा हुनुहुन्नँ अब । मेरो बाबाको अवस्था यस्तो हुनुको पूरै जिम्मेवार म नेशनल मेडिकल कलेज र नारायणी सरकारी अस्पताललाई मान्छु किनभने बाबालाई दुई हप्ता अघि डायलाइसिसमा लैजाँदा एसपीओटु नाइन्टी छ भनेर तपाईंको डायलाइसिस यहाँ हुँदैन भनेर हामीलाई एनएमसीबाट निकालिदिएको हो । चार वर्ष मेरो बाबाले एनएमसीबाट डायलाइसिस गराउनुभएको हो ।

पर डायलाइसिस ३५ सय उनीहरुले सरकारबाट उठाएको हो । कमाउने बेला तिमीहरुले कमाउने, बिरामीलाई गाह्रो भएको बेला चाहिँ धपाइदिने । त्यहाँ मेसिनहरु, डायलुजरहरु केही पनि राम्रो छैन । एनमएसीको कन्ट्र्याक्ट, डायलाइसिस मेसिनको समग्र कुराहरुको कन्ट्र्याक्ट लिएको छ नेफ्रो प्लसले जुन भारतीय कम्पनी हो । अनि भारतको एउटा नागरिकले जो नेपालमा कार्यरत छ, उसले निर्णय गर्न पाउँदैन के, डायलाइसिस कसको हुन्छ र कसको हुँदैन । को बाँच्छ र को बाँच्दैन त्यो एउटा भारतको नेपालमा कार्यरत मान्छेले गर्न पाउँदैन । भारतको मान्छे आएर यहाँ तलब खाने हो ।

नेपालको बिरामीलाई हप्काउने होइन । हाम्रो जीवन त्यसको हातमा छैन । नेफ्रो लाइफबाट उनीहरुले कमिसन खाएर एउटा डायलाइसिसमा, एउटा डायलुजरले १२ वटासम्म डायलाइसिस गरेको छ, मेरो बाबाको । ८–९ वटा त कम्तीमा छ । मसँग सबै सूची छ । गत वर्ष नारायणीमा कोभिड वार्ड बनाउँदा नारायणीको डायलाइसिस बिरामीहरुलाई एनएमसी सिफ्ट गरेको थियो । एक महिनाभित्र पाँचजना बिरामीको मृत्यु भएको थियो । डायलुजर मेसिन नफेरेर ।

नेफ्रो प्लसले पैसा बचाउन असाध्यै धाँधली गरिरहेको छ, त्यहाँ । एनएमसी अस्पताललाई गत साता केन्द्रबाट आदेश आएको थियो । तपाईंको २० प्रतिशत बेड कोभिडका बिरामीलाई छुट्याइदिनु भनेर । अनि एनएमसीले म केन्द्रको आदेश मान्दिनँ भन्यो किनभने एनएमसीका संस्थापक बसुरुद्दीन अंसारी हो । र बसुरुद्दीन अंसारी निकै नै शक्तिशाली मान्छे हो । उहाँको गुन्डागिरी अति नै धेरै चल्छ ।

उहाँलाई केरकार गर्ने कोही पनि छैन । उनी यत्ति शक्तिशाली मान्छे हुन् कि गत वर्ष केपी ओलीको ट्रान्सप्लान्टमा जति पनि खर्च भएको हो, बसुरुद्दीन अंसारीले नीजि रुपमा आफैंले त्यो खर्च व्यवहोरेका हुन् । प्रेस विज्ञप्ति निकालेर यो कुरा घोषणा नै गरिएको हो ।

कलेजमा विद्यार्थीहरुले शुल्क बढायो, केही सुविधा छैन भनेर आन्दोलन गर्दा गुन्डा बोलाएर विद्यार्थीहरुलाई कुट्न लगायो । त्यतिसम्मको घटिया अस्पताल हो, नेशनल मेडिकल कलेज विरगञ्ज ।

एनएमसीको गुन्डागर्दीले गर्दा मेरो बाबा आज हुनुहुन्नँ । यसको सुनुवाई गर्ने कोही पनि छैन । कोही पनि माथि छैन । अनि छानबिन हुन्छ ? हुँदैन के । मलाई थाहा छ के । कोही पनि छैन काठमाडौंबाट आएर अनुसन्धान गर्ने कि एउटा मेडिकल कलेज चलाउनका लागि तँ योग्य छ कि छैनस् । पैसा मात्रै भएर हुन्छ यार ? पैसा मात्रै भएर हुने भए त पैसैको त त्यति कमी थिएन नि मलाई ।

नरायणी अस्पतालले यस्तो बेलामा ‘राइभलरी कार्ड’ खेलिरहेको छ । नारायणी अस्पतालले के गरिरहेको छ भने, यदि एनएमसीले आफ्नो बिरामीको डायलाइसिस आफैं गर्दैन भने, हामी किन गर्ने, एनएमसीको बिरामीलाई । किनभने तपाईंका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) ले गएर मिडियामा स्वीकार्नु भएको छ कि प्रदेश नम्बर दुईको जति पनि कोभिड संक्रमितको म गर्छु नारायणी अस्पतालमा भनेर । एउटा मेसिन बिग्रिँदा त्यहाँ काम गर्ने नर्स दिदीले फोन गरेर भाइ दुबै मेसिन बिग्रियो भनेर अफवाह फैलाउनेलाई कारवाही हुने कि नहुने ? भाइ सूचना नै निकालिसक्यो । सूचना आएकै छैन । दुबै मेसिन बिग्रियो भाइ ।

डाक्टरले युरिया २६० छ, दिमागमा युरिया पुगिसक्यो उहाँको बुवाको, प्लिज चार घण्टा डायलाइसिस गरिदिनुहोस् भन्दा डाक्टरको अगाडि चार घण्टा नम्बर सेट गर्ने र डाक्टर गइसकेपछि त्यसलाई तीन घण्टा बनाइदिने त्यसलाई । एक घण्टा घटाइदिएर तपाईंले आयु पनि घटाइदिनु भएको हो के दिदी तपाईंले । हजुरलाई छिटो घर पुग्नु थियो होला तर कोही मान्छे घर पुगेनन् क्या । तपाईंको एक घण्टाको हतारले गर्दा कोही मान्छे घर नै पुगेनन्, यसका लागि धेरै धेरै धन्यवाद ।

मान्छेहरुले भनिरहेका छन् अहिले कि आदर्शको बाबा धेरै नै गौरवान्वित महसुस गर्नुहुन्छ भनेर तर म एक छोराको रुपमा पूर्ण रुपमा असफल भएँ । मैले गर्नु पर्ने कुराहरु गर्न सकिनँ । बचाउन सकिन्थ्यो होला, मैले टन्नै गलत निर्णयहरु लिएँ होला । काठमाडौं लिएर जानुपर्ने थियो होला । भरतपुर अस्पतालमा रातभरी डाक्टरलाई ‘सर, १०५ ज्वरो छ सर, बाबालाई होस् छैन सर’ ‘एसपीओटु ठिक छ भाइ, भाइटल्स ठिक छ भाइ’ ‘आइसीयूमा राखिदिनु न सर, आइसीयूमा राखिदिनु न सर’ भन्दाभन्दै बिहानको १० बजे बाबा बित्नुभयो ।

एसपीओटु मात्रै ठिक भएर यदि कोभिडको उपचार हुने भए त अक्सिमिटर लिएर म पनि डाक्टर हुन्थेँ नि सर । किन स्ट्यान्ड अप गरिरहेको हुन्थेँ ?

मान्छेहरुले अहिले के भनिरहेका छन् भने आदर्शको बुवा जहाँ पनि हुनुहन्छ, खुसी हुनुहुन्छ किनभने उहाँ उहाँको छोराको नामले चिनिनुभएको छ । ‘बिनोद मिश्रा, फादर अफ आदर्श मिश्रा ।’ त्यस्तो केही पनि होइन, तपाईंहरुले मेरो बाबा नचिन्नुभएको हो । मेरो बाबा मभन्दा पनि चर्चित हो । म टिभीमा आइसकेँ तर यो ठाउँमा मलाई भन्दा मेरो बाबालाई धेरैले चिन्छन् । अहिले पनि विनोद मिश्राको छोरा भनेर चारैतिर मेरो नाम चल्छ । कुनै पनि पसलमा यो औषधी विनोद सरको घरमा लानुपर्छ भन्यो भने अहिलेसम्म पैसा तिर्नुपरेको छैन । त्यतिसम्मको विश्वासयोग्य, इमानदार व्यक्ति हो उहाँ । पैसाको कुरामा, व्यवस्थापनको कुरामा जे पनि नै कुरामा उहाँ उत्कृष्ट हुनुहुन्थ्यो ।

उहाँ नगोल स्कूलको प्रधानाध्यापक हुनुहुन्थ्यो । यहाँको सबैलाई सोध्नुहोस् कि उहाँ अघिको नगोल स्कूल कस्तो थियो र अहिलेको नगोल स्कूलको भवन, शौचालय कस्तो छ भनेर । केही पनि सुविधा थिएन के । मृगौला फेल भएर त्यतिसम्मको काम गर्न सक्ने मान्छे हो के । केपी ओलीले त छोडिदिए हुन्छ कि कुर्सी । मेरो बाउ गाको हो कि हप्ताको दुई दिन डायलाइसिस । स्कुटरको पछाडि गएर तरपनि मेरो बाउले चलाएको स्कूल हेर र तिमीले चलाएको देश हेर एकचोटी ।

अनि लाज लाग्दैन भने मलाई भन । काम गर्न दिएनौ भन्छौ, काम गर्न कहाँ मन छ तिमीलाई ? ‘त्यो पर्दैन’ भन्दै बस्ने काम हो तिम्रो । भेडाहरु पछाडि जम्मा गरेको छौ, त्यहि हुल बोकेर जतिबेला पनि भारत विरुद्धमा बोलेर, एक हूल नेपालीहरु पछि लागिहाल्छन्, त्यो सेन्टिमेन्टमा तिमीले चुनाव जित्यौ । मधेसी नेताभन्दा म राम्रो छु भनेर मात्रै प्रमाणित गरेको हो के तिमीले तर तिमी यत्ति पनि राम्रो नेता भने होइनौ ।

त्यसपछि बिहान १० बजे मलाई डाक्टरले बोलाउनुभयो । अनि भन्नुभयो, ‘आदर्श, हामीले जे जे गर्न सक्थ्यौं गर्‍यौं, बाबा अब हुनुहुन्नँ । ’ त्यसपछि मैले तीनवटा शब्द मात्रै भनेँ – ‘ठिक छ, ठिक छ, ठिक छ ।’ त्यसपछि चुप लागेर गएर बसेँ । तीन घण्टासम्म अस्पतालमा मलाई मात्रै थाहा थियो कि बाबा बितिसक्नु भयो भनेर । दिदीलाई थाहा छैन, ममीलाई थाहा छैन । अब झुट बोल्ने क्रम चालू भयो । बानी थियो पहिले नै झुटो थियो । मैले लास्टै ढाँटेको छु घरमा । यसपाली ढाँट्न निकै जरुरी थियो । यसपटक ढाँट्दा समातियो भने चाहिँ धेरै गाह्रो हुन्थ्यो ।

मेरी मम्मीले पहिला नै भित्तामा हात, टाउको हान्नेँ गरिसक्नुभएको थियो । मेरो ममीको डिप्रेसनको अहिलेसम्म पनि औषधी चल्छ । त्यसपछि मैले ममीलाई अब बाबाको रिडिङ स्टेबल आएको छ, मुटुको धड्कन देखाइरहेको छ, अब बिस्तारै ठिक हुनुहुन्छ भन्दै भन्दै ढाँट्दै ढाँट्दै गएँ । अन्तिममा सन्देश, राकेश भन्ने दुईजना साथीहरुले आएर समात्न थाले मलाई । तिनिहरु नभएको भए मैले के गर्थेँ मलाई थाहा छैन । बाबालाई त्यसपछि जीतपुर लिएर आउनुपर्ने भयो । त्यसपछि ममीलाई के भन्ने ? त्यहाँबाट लिएर गएपछि बितिसक्नु भयो भन्ने थाहा पाउनुहुन्छ भनेर त्यसपछि ‘ममी यहाँ भेन्टिलेटर खाली छैन, नारायणी अस्पतालमा भेन्टिलेटरको व्यवस्था भएको छ, हामी त्यहाँ जान्छौं, बाबाको उपचार त्यहाँ हुन्छ’ भन्यौं । बाबाको ‘बडी’ प्याक गरिसकिएको थियो । एम्बुलेन्समा हालिसकेको थियो ।

आफ्नो बुढा गुमाएकी एक महिला मेरी आमालाई ‘तेरो बुढाको नारायणी अस्पतालमा उपचार हुन्छ’ भनेर सिधै श्मशान घाटमा लिएर गएँ । कति पाप छ मेरो टाउकोमा ।

मलाई जीवनमा खासै रिग्रेट छैन । तर केही कुराहरुको एकदमै अफसोस छ ।

पहिलो कुराः मेरो बाबाले बित्नुभन्दा दुई दिन अघि मलाई चिन्नुभएन । ‘आदर्श छोरा, बेटा’ नभनेर को हो यो ?’ भन्नुभयो । अन्तिम याद नै मेरो त्यहि हो । जति ‘पापा, पापा, पापा’ भनेर बोलाए पनि एकचोटी पनि बोल्नु हुन्थेन ।

दोस्रो कुराः नेपालको ठूलो स्ट्यान्डअप कमेडियन मान्दो रैछन मान्छेहरुले मलाई । राम्रै कमेडी गर्छ भन्छन् । तर एउटा पनि शो लाइभ बाबालाई देखाउन सकिएन । लास्टै ठूलो सपना थियो । प्रज्ञा प्रतिष्ठानमा एउटा शो गरेर बाबालाई फ्रन्ट रोमा राखेर एक घण्टा बाबाबारे पर्फम गर्ने । जीवनको यो सबैभन्दा ठूलो असफलता हो ।

एनएमसी, नारायणी मिलेर खाइदिए एउटा मान्छेको जीवन । अब कति जनाको खान्छन् मलाई थाहा छैन । तर लड्ने प्रयास जारी राखौं, जति जीवन बचाउन सकिन्छ, बचाऔँ । मबाट जति हुन्छ, त्यो गर्न तयार छु, मलाई १०–१२ दिनको समय चाहिन्छ होला । काजक्रियाको काम सकाएर, तपाईंहरुको हेल्प पोस्टहरु हेरेर, अक्सिजनको आवश्यकताहरु सबै पूरा गर्ने प्रयास गर्नेछु ।

भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here