उपत्यकाभित्र जेष्ठ मसान्त सम्म थपियो लकडाउन :

0
313

काठमाडौँ, जेठ १८ गते

कोरोना [कोभिड १९ ] दोस्रो लहरको संक्रमण फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि उपत्यकामा निषेधाज्ञा जारी गरिएको एक महिना पुगेको छ । कोरोना सङ्क्रमणको अवस्था हेरेर जेठ अन्तिमसम्म निषेधाज्ञा थप्ने तयारीमा अधिकारीहरू लागेका छन् ।

उपत्यकाभित्र का प्रमुख जिल्ला अधिकारीले वैशाख १६ देखि उपत्यकामा निषेधाज्ञा जारी गरेका हुन् । सो अवधिमा निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै करिब ३३ हजार सवारी साधन र एक हजार आठ सय जनालाई ‘होल्ड’ गरिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार निषेधाज्ञा कार्यान्वयनका लागि ट्राफिक र अन्य गरी करिब पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । उपत्यका प्रवेशको सात नाकासहित पाँच सय स्थानमा नियमित जाँच चौकी स्थापना गरिएको छ ।

निषेधाज्ञा उल्लङ्घन गर्नेविरुद्ध ‘होल्ड’ कारबाहीअन्तर्गत सवारी साधनको हकमा साँझ ६ बजेसम्म र सर्वसाधारणलाई आधा घण्टा सडकमै उभ्याई सम्झाइबुझाइ गरी फर्काइँदै आएको छ । तर, पछिल्लो पटक कोभिड–१९ सङ्क्रमण व्यवस्था अध्यादेश जारीपछि जरिवाना तथा कैद सजायको तयारी गरिएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पहिलो तीन हप्ताको निषेधाज्ञामा कोरोना सङ्क्रमण नघटेपछि चौथो पटक थप कडाइ गरिएको स्पष्ट पार्नुभयो । सोही रणनीतिअनुसार खाद्य, थोक तथा किराना पसल र डिपार्टमेन्ट स्टोरहरू पूर्ण रूपमा बन्द गरिएको उहाँको दाबी छ । अवस्था हेरेर निषेधाज्ञा थपिन सक्ने उहाँले बताउनुभयो ।

कोरोना महामारी नियन्त्रणको अन्तिम विकल्प निषेधाज्ञा नै भएकाले कडाइ गर्नु परेको भनाइ उहाँको छ । सङ्क्रमितको सङ्ख्या प्रतिदिन घट्नु नै निषेधाज्ञाको प्रभावकारिता भएको बुझाइ प्रमुख जिल्ला अधिकारी पराजुलीको छ ।

केही दिनयता निषेधाज्ञा थप कडा बनाइँदा काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या तुलनात्मक रूपमा घटेको तथ्याङ्क सुनाउँदै उहाँले भन्नुभयो, सङ्क्रमितको सम्पर्क तथा भीडबाट टाढा बस्नु नै कोरोनाबाट जोगिने उपयुक्त विकल्प रहेछ ।

त्यस्तै महानगरीय प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालले सरकारको निर्णयअनुसार निषेधाज्ञा कार्यान्वयनमा कुनै कमी हुन नदिएको बताउनुभयो । मातहतका सम्पूर्ण सुरक्षा निकायलाई सुरक्षित र मर्यादित ढङ्गले निषेधाज्ञा कार्यान्वयनमा खटाइएको उहाँले स्पष्ट पार्नुभयो ।

कोरोना सङ्क्रमण जितेर नियमित काममा फर्किनुभएका एआईजी पालले भन्नुभयो, कोरोनाको पीडा कस्तो हुन्छ ? सङ्क्रमित भएपछि मात्र थाहा हुन्छ । छ सात दिन भोक सहन सकिन्छ तर कोरोनाको पीडा सहन सकिन्न । महानगरीय प्रहरीले अप्ठ्यारोमा परेका नागरिक, बिरामी तथा बिरामीका आफन्तको आवागमनमा सहजीकरण गरिएको बताएको छ । गोरखापत्र बाट

प्रतिक्रिया दिनुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here