सम्झनामा जेठ २२ः शाही वंशका राजाको अन्तिम राज्यारोहण

0
136
Women observing the ritual to wash away the sins committed during mentruation at the annual Rishi Panchami festival, Kathmandu. Nepal.

काठमाण्डौ – जेष्ठ २२,

एउटा फोटो बेला बेला मा नेपाली संचार माध्यम तथा सामाजिक सन्जालहरुमा अत्यन्तै भाईरल हुने गरेको छ । अब चुनाव आएपछि त्यो पुरानो फोटो फेरी भाईरल बनाउने कोशिश हुने अझै सम्भावना रहेको छ। त्यो फोटो हो, एमाले नेता माधवकुमार नेपालले तत्कालिन राजा ज्ञानेन्द्रको हनुमान ढोकाको नासलचोकमा आयोजित राज्यारोहण समारोहमा राजालाई दाम चढाएको फोटो। तत्कालिन दरवारमा कुनै महत्वपूर्ण समारोह हुदां दाम चढाउने प्रचलन नौलो होईन। यसै अनुरुप वास्तवमा त्यो दिन उनले प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतले दाम चढाएका थिए।

तर त्यहाँ दाम चढाउने उनि एकजना मात्र थिएनन। राजनीतिक हिसावले उनको फोटोको दुरुपयोग भएको हो। त्यतिखेर तत्कालिन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईराला, तत्कालिन प्रधान न्यायाधीश केशवप्रसाद उपाध्याय, प्रतिनिधि सभाका सभामुख तारानाथ रानाभाट, तत्कालिन राज परिषद स्थायी समितिका सभापति केशरजंग रायमाझी, तत्कालिन प्रधानसेनापति प्रज्वल्ल शमशेर जवरा,तत्कालिन प्रहरी महा निरीक्षक प्रदीप शमशेर जवरा, तत्कालिनं उप प्रधानमन्त्री रामचन्द्र पौडेल लगायतले दाम चढाएका थिए। तर अरुको फोटो भाईरल बनाउने आवश्यकता महसुस गरिएन।

२०५८ साल जेठ १९ गते राजदरवारमा भएको विभत्स हत्या काण्डमा तत्कालिन राजा रानी लगायत परिवारका सदस्य सहित मारिएपछि जेठ २० गते तत्कालिन राज परिषदको आकस्मिक बैठकले सोही घटनामा सख्त घाईते भएका तत्कालिन युवराजाधिराज दिपेन्द्रलाई राजा घोषणा गरिएको थियो। छाउनी स्थित वीरेन्द्र शैनिक अस्पतालमा बेहोस अवस्थामा सघन उपचारकक्षमा उपचार गराईरहेका दिपेन्द्रलाई राजा घोषणा गरी तत्कालिन अधिराजकुमार ज्ञानेन्द्रलाई राज्य सहायकको रुपमा देशको शासन सन्चालन गर्न जिम्मेवारी दिईएको थियो।

तर दिपेन्द्र नेपालको ईतिहासमा सबैभन्दा छोटो र राज्यारोहण गर्न तथा श्रीपेच लगाउन नपाउने अभागी राजा बन्न पुगे। उनको जेठ २२ गते बिहान ३ बजेर ४५ मिनेट जाँदा निधन भएको थियो। त्यसपछि फेरी बसेको राज परिषदको बैठकले राज्य सहायकको जिम्मेवारी बहन गरिरहेका अधिराजकुमार ज्ञानेन्द्रलाई राजा घोषणा गरेको थियो। उनको यो दोश्रो राज्यारोहण थियो। २००७ सालमा तत्कालिन राजा त्रिभुवन सहित राजपरिवारका सदस्यहरु भारत गएको बखत ज्ञानेन्द्रलाई ४ वर्षको बालकै छदाँ ७४ घण्टासम्म राजाकै हैसियत दिईएको थियो।

जेठ २२ गते सोमवार बिहान ११ बजे हनुमान ढोका राज्यारोहणको कार्यक्रम तय गरिएको थियो। तर स्थिति सहज थिएन। तत्कालिन राजा लगायत उनका परिवारका सदस्यहरुको हत्या भएको घटनाप्रति सर्वसाधारणमा आक्रोस बढदो थियो। बिभिन्न ठाँउमा प्रदर्शन तथा तोडफोड समेत गरिएको थियो। झन घाईते अवस्थामा उपचार गराईरहेका युवराज दिपेन्द्रको पनि निधन भएपछि जन आक्रोस बढन गएको थियो। यसरि सर्वसाधारण आक्रोशित हुनुमा तत्कालिन राज्य सहायकका हैसियतले अधिराजकुमार ज्ञानेन्द्रले जेठ २१ गते दिएको सन्देश जिम्मेवार रहेको महसुस गर्न सकिन्छ। उनले राजदरवार घटना आकस्मिक रुपमा स्वचालित हतियार पडकन गई घटेको सन्देश सार्वजनिक गरेका थिए जसलाई जनताहरुले स्वभाविक रुपमा लिएनन।

यसैले सुरक्षा स्थिति कडा बनाएर राज्यारोहण कार्यक्रमको आयोजना गरिएको थियो। हनुमान ढोका आयोजित संक्षिप्त कार्यक्रममा तत्कालिन बडागुरुज्यू केशरीराज पाण्डेले नयाँ राजालाई श्रीपेच लगाईदिएका थिए। नेपाल टेलिभिजनले राज्यारोहण समारोहको प्रत्यक्ष प्रसारण गरेको थियो। त्यतिखेर तत्कालिन शाही नेपाली सेनाले नयाँ राजाको सम्मानमा १ सय १ तोपको सलामी अर्पण गरेको थियो। त्यसपछि विभिन्न व्यक्तिले दाम राखेपछि राज्यारोहण कार्यक्रम सम्पन्न भएको थियो।

हनुमान ढोकाको कार्यक्रमपछि राजा ज्ञानेन्द्र ६ घोडेबग्गीमा बसेर राजदरवार गएका थिए। उनि चढेको बग्गीमा प्रधान सेनापति राणा पनि पछिल्तिर बसेका थिए। बग्गीलाई सैनिकहरुले हतियार सहित घेरेर लगेका थिए।नयाँ राजालाई दरवार सम्म पुर्याउन तत्कालिन प्रधानमन्त्री कोईराला, प्रमुख प्रतिपक्षी दलका नेता नेपाल, सभामुख रानाभाट लगायतका विशिष्ठ व्यक्तिहरु पनि गाडीमा गएका थिए। हामी भने समाचार संकलन गर्न हिडेंरै बग्गीको पछि पछि लागेका थियौं। यसरि राजा हनुमान ढोकादेखि दरवारसम्म जाँदा बाटोमा थुप्रै सर्वसाधारणको उपस्थिति थियो। सुरक्षाकर्मीलाई कुनै अप्रिय घटना घटलाकि भन्ने डर थियो। तर विभिन्न ठाँउमा राजा बिरोधी नारा लगाएको देखिएको थियो।

त्यसदिन स्वर्गीय दिपेन्द्रको दाहसंस्कारका लागि आर्यघाट लैजान त्यति सहज भएन। दरवार हत्याकाण्डको छानविन प्रकृया नटुङ्गिएसम्म दाहसंस्कार गर्न नहुनेजस्ता जनताहरुको माग बढदै गएपछि कर्फ्यु लगाएर उनको शब चक्र पथको बाटो हुदैं सैनिक गाडीमा पशुपति लगिएको थियो। उनलाई दागबत्ती दिंदा राती झण्डै ८ बजेको थियो। त्यसदिन धेरै ठाँउमा झडप भएको थियो भने केही व्यक्तिको मृत्यू समेत भएको थियो।

त्यसै दिन राती राजा ज्ञानेन्द्रले आफ्नी पत्नी कोमललाई बडामहानी घोषणा गरेका थिए। उनि पनि त्यतिखेर दरवार हत्याकाण्डमा घाईते भई सैनिक अस्पतालमा उपचार गराईरहेकी थिईन।

तर राजाले जन आक्रोश देखेर आफ्ना छोरा पारसलाई भने युवराजाधिराज घोषणा गर्न सकेनन। राजा ज्ञानेन्द्रले राज्यको अभिभारा सम्हालेपनि समय अनुकुल देशलाई हांक्न सकेनन। देश भित्र क्रियाशील राजनीतिक दलहरुको साथ लिएर मुलुकलाई समय सापेक्ष अघि बढाउनु भन्दा मूल राजनीतिबाट लामो समयदेखि ओझेलमा परिसकेका तथा गैर राजनैतिक व्यक्तिहरुको भरमा उनले देश चलाउन खोजे फलस्वरुप उनका हरेक कदम असफल हुदै गयो । तत्कालिन राजा ज्ञानेन्द्रले २ पटक राज्यारोहण गरेर के गर्नु एक पटक पनि राज्याभिषेक गर्न पाएनन। अन्तिममा २ सय ४० वर्ष लामो शाही वशींय राजतन्त्र नेपालबाट सदाका लागि अन्त्य हुन पुग्यो। नेपालन्युज बाट

आफ्नो प्रतिक्रिया दिनुहोला ।

#rajniti #raja

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here