भिटामिन ‘डी’को जथाभावी प्रयोग नगर्न चिकित्सकको सुझाब , पत्थरीदेखि मिर्गौला ड्यामेज गराउने चेतावनी !!

0
278

२४ जेष्ठ २०७८, सोमबार काठमाडौं ,

उपत्यकाका अधिकांश औषधि पसलहरुमा अहिले सबैभन्दा बढी बिक्री हुने औषधि भनेको भिटामिन सी र भिटामिन डी हो । कोरोनासँग लड्न प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) बलियो बनाउने भन्दै अहिले भिटामिन सी र भिटामिन डीको अत्यधिक बिक्री, वितरण र प्रयोग भइरहेको छ ।

तर, चिकित्सकको सल्लाहबिना जथाभावी भिटामिन डीको प्रयोग गर्दा यसले हड्डी दुखाउनेदेखि मिर्गौला ड्यामेज गर्नेसम्मको असर गर्ने चिकित्सकले चेतावनी दिएका छन् ।

भिटामिन सी र भिटामिन डी दुबैले इम्युनिटी बढाउने भए पनि शरीरमा यसको मात्रा बढी भएको अवस्थामा यसले झनै घातक असर गर्ने चिकित्सकले चेतावनी दिएका छन् । शरीरमा भिटामिन सीको मात्रा बढी हुँदा दिसा–पसिाबबाट बाहिर जाने भएकाले केही असर नगर्ने तर भिटामिन डीको मात्रा बढी भएमा शरीरमा नै बसिरहने भएकाले यसले मिर्गौला बिगार्नेदेखि हड्डी दुखाउनेसम्म असर गर्ने चिकित्सकको भनाइ छ ।

शरीरमा भिटामिन डीको मात्रा बढी भएमा रगतमा क्याल्सियमको मात्रा बढ्न गई वाकवाकी लाग्ने, वान्ता हुने, कमजोर महसुश हुने र बारम्बार पिसाब लाग्ने हुन सक्छ । शरीरमा भिटामिन डीको मात्रा बढी भएको अवस्थामा हड्डी तथा जोर्नी दुख्ने, मिर्गौलामा पत्थरी हुने र मिर्गौला नै ड्यामेज पार्नेसम्मको समस्या हुन सक्छ ।

अहिले धेरै मानिसहरुमा भिटामिन डीको कमी देखिएको भए पनि जथाभावी भिटामिन डीको बढी प्रयोग भने हानिकारक हुन सक्ने छ । पहिले रगत जाँच गरेर भिटामिनडी को मात्रा कति छ, हेर्ने र मात्रा कम भएको अवस्थामा मात्रै चिकित्सकको सल्लाहअनुसार भिटामिन डी ट्याब्लेट खान मिल्ने चिकित्सक बताउँछन् ।

अहिले नेपालमा धेरैलाई भिटामिन डीको कमी देखिएको भए पनि आफूखुशी मेडिकलबाट किनेर खानु गलत हो । रगत जाँच गरेर भिटामिन डी कमी देखिएको अवस्थामा भने ३ महिना, ६ महिना वा ९ महिनासम्म खानका लागि दिन सकिन्छ ।

तर, कमीको अवस्था हेरेर कति खाने भनेर चिकित्सकको सल्लाह (प्रेस्किप्सन) मा मात्रै खानु पर्छ । जथाभावी खाएमा यसले हाइपर क्याल्सिेमिया गराउने र हाइपर क्याल्सेमियाले हड्डीमा समस्या ल्याउने तथा मिर्गौला लगायतका भागमा पत्थरी बनाउने चिकित्सकको चेतावनी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here