विश्व योग दिवस : जीवनका लागि योग किन अपरिहार्य छ ? कसरि गर्ने? यसको फाइदा के छ ?

0
141

काठमाण्डौ असार ०७

मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयोगी मानिने योग गर्न आह्वान गर्दै अन्तर्राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्रसङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो ।

सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । राष्ट्रसङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो ।

नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ । यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।

के छन् त योगका फाइदा ?
धेरैजसो मानिसका लागि आज योग विद्या केवल केही आसनहरूको संग्रहमात्र हो, जसको माध्यमबाट हामी शरीर स्वास्थ्य बनाइराख्न चाहन्छौं । ध्यानक्रियाहरूको मद्दतले हामी केही मानसिक विग्रहको उपचार पनि खोजी गर्छौं। त्यसैले योगले शरीर र मनलाई सन्तुलित रूपमा समन्वय गरेर हटाउँछ । तर सही तरिकाले नगरिएको योगले हामीलाई फाइदा भन्दा बेफाइदा गर्छ । तर उपयुक्त तरिकाले योग गर्न सकेका सबै अंग, प्रत्यंग र ग्रन्थीहरूको व्यायाम हुन्छ र सबै अंगलाई सहज बनाइदिन्छ ।

रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ । बुढेसकालमा पनि जवान झै स्वस्थ र स्फूर्त बनाउँछ भने योगका आसनहरूले मांसपेशीलाई बलियो बनाउँछ। योगले तनाव भगाउँछ।, मीठो निद्रा लगाउँछ, भोक जगाउँछ र पाचनप्रक्रियालाई सही ढंगबाट चलाउँछ । प्राणायामले स्वासप्रश्वासको गति नियन्त्रण गर्छ। यसका साथै ध्यान पनि योगको महत्वपूर्ण अंग भएकाले ध्यानले एकाग्रता बढाउँछ, तनाव कम गराउँछ ।

नियमित योगाभ्यासले शरीरमा चिनी र कोलस्ट्रोलको मात्रा घटाउँछ । नियमित गर्न सके योगका आसन र ध्यानले बाथरोग, पछाडि दुख्ने ९ब्याक पेन० को समस्या कम गर्छ । महिलाहरूमा महिनावारीका बेला देखिने समस्या तथा गर्भवतीहरूले योग गर्दा पेट भित्रको बच्चालाई समेत फाइदा हुन्छ । ३्४ वर्षदेखि नै बालबालिकालाई योग गराउँदा उनीहरूको दिमाग तीक्ष्ण हुने र शरीर पनि स्वस्थ हुन्छ ।

कसरी गर्ने योग ? ‍

सके सम्म विहानको समयमा योग गर्ने गर्नु पर्छ । अझ घाम झुल्नु भन्दा अगाडिको एक घण्टा र घाम झुल्किएपछिको एक घण्टा पछाडी योगका लागि उत्तम समय हो। यदि यो समयमा पनि योग गर्न सकिएन भने घाम अस्ताउनुभन्दा आधा घण्टाअघि र घाम अस्ताएको आधा घण्टापछि पनि उपयुक्त समय हो। सकभर मध्य दिनमा योग गर्नु हुदैन । सिधै घाम पर्ने ठाउँमा पनि योग गर्नु हुदैन ।

खाना खाइसकेपछिको दुई देखि तीन घण्टासम्म पनि योग गर्नु हुँदैन । यो बिचमा गर्दा पाचन प्रक्रिया बिग्रिएर अरु समस्या आउन सक्छ। योग स्वच्छ वातावरण भएको ठाउँमा गर्नु पर्छ। भान्छाकोठा वा धेरै होहल्ला हुने ठाउँमा पनि योग गर्नु त्यति राम्रो मानिँदैन। योगाभ्यास सकेसम्म नुहाएर गर्नु उत्तम हुन्छ । यो त योग गर्नु पुर्व ध्यान कुरा हो भने योग सुरु गर्दा सबै भन्दा पहिले ध्यानबाट सुरु गर्नु पर्छ । त्यसपछि शरीरलाई तताउने खालका अभ्यास गर्नु पर्छ । र विस्तारै अन्य अभ्यास गर्दै जानुपर्छ ।

योग गर्दा ध्यान दिनु पर्ने पक्ष–

आजभोलि धेरैले रोग लागि सकेपछि मात्र योगाभ्यास गर्ने गरेको पाइन्छ । वास्तवमा योग भनेको रोग लाग्नुभन्दा नलाग्दै स्वस्थ अवस्था देखि नै सुरु गर्नु पर्छ । तर योग गर्दा ध्यान दिनुपर्ने केही कुरा छन् ।

१० वर्षसम्मका बालबालिकालाई योगको आसन गराउँदा विशेष ध्यान दिनु पर्छ । यो उमेरका बालबालिकाको हड्डी एकदम नरम हुन्छन् । यस्तो बलामा योगका केही आसनहरूले हड्डी बाङ्गिने सम्भावना हुन्छ । त्यसैले पनि बालबालिकालाई योग गराउँदा ध्यान दिनु पर्छ ।

महिलाहरूले महिनावारी भएको बेलामा योग गर्दा विशेष ध्यान दिनु पर्छ। यस्तो बेलामा शरीरलाई झड्का दिने खालका अभ्यास, टाउको तल, खुट्टा माथि गर्नुपर्ने खालका आसन गर्नु हुँदैन ।

तनावमा भएको बेलामा पनि योग गर्नु उपयुक्त हुँदैन । तर यस्तो बेलामा ध्यान गर्नु राम्रो हुन्छ। तर तनावपूर्ण अवस्थामा योग अभ्यास गर्दा मांसपेशी दुख्ने, टाउको दुखाउने,जस्ता समस्याहरू देखा पर्न सक्छ ।

यस्तै महिलाहरूले गर्भवती भएको बेलामा योग गर्दा विशेष ध्यान दिनुपर्छ । गर्भ रहेको पहिलो तीन महिना र अन्तिमको तीन महिना विशेष ध्यान दिनु आवश्यक हुन्छ । गर्भवती महिलाले नाडीशोधन, चन्दभेदन, शितली प्राणायाम जस्ता अभ्यास गर्नु राम्रो हुन्छ।

यसले नशाहरूलाई सफा गरी रक्तसञ्चार गर्ने,शरीरलाई हल्का र शान्त राख्न सहयोग गर्छ। गर्भवती महिलाले पेटलाई दबाब दिने खालका आसनहरू गर्नु हुँदैन । यसले बच्चालाई असर गर्ने सम्भावना हुन्छ ।

उच्चरक्तचाप, मधुमेह जस्ता दीर्घरोग भएकाहरूले पनि योग गर्दा ध्यान दिनु पर्छ । यस्ता मानिसहरूले धेरै परिश्रम लगाएर गरिने योग, शरीर तात्ने खालका योग अभ्यासहरू गर्नु हुँदैन । जस्तै प्रेसर भएकाहरूले कपालभाँती गर्दा ध्यान दिनुपर्छ । यस्तै चक्रासन गर्दा ध्यान दिनुपर्छ । यसले मुटुमा अलि प्रेसर दिने हुँदा मुटुलाई असर गर्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here