सोलुखुम्बुका ६ स्थानीय तह ले सार्वजानिक गर्यो आफ्नो नीति तथा कार्यक्रम

0
326

काठमान्डाैं आसाढ़ १२,

सोलुखुम्बुका ६ स्थानीय तहले आगामी वर्षको नीति तथा कार्यक्रम सहितको बजेट ल्याएका छन् ।

असार १० गते भित्र स्थानीय सरकारले बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार एक नगरपालिका सहित ६ स्थानीय तहले नीति कार्यक्रम सहितको बजेट ल्याएका हुन् । सोलुदुधकुण्ड नगरपालिका, थुलुङदुधकोशी गाउँपालिका, नेचासल्यान, सोताङ, महाकुलुङ र खुम्बु पासाङल्हामु गाउँपालिकाले बिहिबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

यस्तै माप्यदुधकोशी गाउँपालिकाले कोरोनाका कारण तयारी नपुगेको भन्दै बजेट ल्याउन नसकेको जनाएको छ भने लिखुपिके गाउँपालिकाले वडातहबाट नै योजना छनौट हुन नसक्दा समस्या भएको जनाएको छ ।

जिल्लाको एक मात्र सोलुदुधकुण्ड नगरपालिकाले रु.५९ करोड ३ लाख ५४ हजार २ सय ६४ को बजेट पारित गरेको छ । नगर उपप्रमुख कल्पना राइले ८औँ नगरसभामा प्रस्तुत गर्नुभएको बजेटमा शिक्षालाई पहिलो प्राथमिकतामा राखिएको छ ।

कुल बजेटको ३५ प्रतिशत शिक्षामा विनियोजन गरेको नगरपालिकाले स्वास्थ्य तर्फ रु.४ करोड २२ लाख बजेट व्यवस्था गरेको छ ।

टेलिमेडिसीन सेवा सञ्चालन गरी नागरिकलाई विषेशज्ञ मार्फत परामर्श दिने व्यवस्था देखि वडा नं १० स्थित टाप्टिङ स्वास्थ्य चौकीलाई प्राथमिक अस्पताल बनाउने लगायतका कार्यक्रम राखिएको उपप्रमुख राइले बताउँनुभयो ।

जिल्लाको गाउँपालिका मध्ये सबैभन्दा ठुलो रहेको थुलुङदुधकोशीले रु.४६ करोड ६२ लाख १६ हजारको बजेट सहित नीति तथा कार्यक्रम पारित गरेको छ । छैटौँ गाउँसभाबाट पारित गरिएको कार्यक्रममा भूमिहिन तथा सुकुम्वासीलाई घडेरी उपलब्ध गराउने देखि नगरपालिका बनाउने सम्म रहेको छ ।

गाउँपालिका अध्यक्ष असिम राइकाअनुसार शहिद तथा वेपत्ता परिवारलाई मासिक रु २ हजार निर्वाह भत्ता उपलब्ध गराउने कार्यक्रम पनि पारित गरिएको छ । यस्तै सोही गाउँपालिकामा रहेका माझी समुदायका विद्यार्थीहरुको शैक्षिक उन्नयनका लागि एकमुष्ट वर्षीक रु ५ हजार प्रोत्साहन भत्ता उपलब्ध गराउने पनि कार्यक्रममा समावेश गरिएको छ ।

गाउँपालिकाले शुरु गरेको गौरवको आयोजनाहरु दुधकोशी सामुदायिक अस्पताल, थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालय, खेल ग्रामलाई आगामी वर्षको बजेटले प्राथमिकताका साथ समेटेको बताइएको छ ।

यस्तै जिल्लाको सोताङ गाउँपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिँदै रु.३५ करोड २९ लाख ५४ हजारको बजेट सहित नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँसभाबाट पारित कार्यक्रममा ज्येष्ठ नागरिकको उपचार निःशुल्क गर्ने उल्लेख छ ।

यस्तै, नेचासल्यान गाउँपालिकाले सडकलाई पहिलो प्राथमीकतामा राखेर नीति तथा कार्यक्रम सहितको बजेट पारित गरेको छ । बिहिबार सम्पन्न नवौँ गाउँसभाबाट रु.४७ करोड १८ लाख ४० हजारको बजेट तथा कार्यक्रम पारित गरेको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो ।

जसमध्ये ४ करोड बढी बजेट सडकमा विनियोजन गरिएको छ । अण्डामा आत्मनिर्भर बन्नेदेखि रोजगार कोष स्थापना लगायतको कार्यक्रमलाई आगामी वर्षको बजेटले समेटेको उहाँको भनाइ छ ।

विश्वको सर्वोच्च शिखर रहेको खुम्बु पासाङल्हामु गाउँपालिकाको ९ औँ गाउँसभाबाट रु।३७ करोड ४७ लाख ५० हजारको बजेट पारित भएको छ । स्वर्गीय गाउँपालिका अध्यक्ष निमदोर्जी पर्यटन सडकलाई पहिलो प्राथमकितामा राखेर बिहिबार नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ ।

उक्त सडकको लागि रु.२ करोड बढी बजेट व्यवस्था गरिएको छ भने कोभिड–१९ नियन्त्रणका लागि रु.१ करोड बजेट पारित गरिएको गाउँपालिकाले जनाएको छ ।

महाकुलुङ गाउँपालिकाले रु३१ करोड ६० लाख १८ हजार बजेट सहितको नीति तथा कार्यक्रम शुक्रबार पारित गरेको छ । बिहिबार गाउँसभामा पेश गरेको नीति तथा कार्यक्रम शुक्रबार अनुमोदन गरिएको गाउँपालिका प्रवक्ता सुभधनी कुलुङले जानकारी दिनुभयो । न्युज २४ बाट साभार

आफ्नो प्रतिक्रिया दिनुहोला ।

#सोलुखुम्बु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here