उपचार मा कुनै कमि हुदैन ; PM

0
279

काठमाडौँ, जेठ २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको महामारी साझा समस्या रहेको बताउनुहुँदै यस लडाइँमा सक्रिय सहभागी हुन सबैसँग आग्रह गर्नुभएको छ ।

अहिलेको महामारीको सामना गर्न सकिने दृढता व्यक्त गर्नुहुँदै उहाँले महामारीको लडाइँमा सरकारले थुप्रै काम गरेको र आगामी दिनमा पनि गर्न उत्सुक रहेको बताउनुभयो । सरकारको प्रयासमा स्वास्थ्य क्षेत्र, निजी व्यवसायी, गैरसरकारी संस्था, गैरआवासीय नेपालीले सङ्गठित र एकद्वार प्रणालीमार्फत सहयोग गर्नसमेत उहाँले आग्रह गर्नुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार जनस्वास्थ्यविद्, सुरक्षा निकायका प्रमुखहरू, अस्पताल सञ्चालक, अक्सिजन सिलिन्डर सप्लायर्सलगायतका सरोकारवालासँग सामूहिक छलफल गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले औषधि, भेन्टिलेटरलगायतका उपकरणमा कमी हुनुहुँदैन भन्नुभयो ।

“कोरोनाको रोकथामका लागि सामाजिक दूरी कायम गर्नु र यसको चैन छुटाउनु नै मुख्य कुरा हो,” उहाँले गल्ली–गल्लीमा अहिले पनि पसल खुलेको, दिनभरि मानिस हिँडडुल गरेको पाइएको छ, प्रहरी लगाएर सम्झाइबुझाई गरी रोक्ने व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । अक्सिजनको आपूर्ति नै अहिले मुख्य काम रहेको बताउनुहुँदै उहाँले यसको आपूर्तिमा पर्याप्तता ल्याउन सम्बन्धित सबैसँग आग्रह गर्नुभयो ।

अहिलेको होम आइसोलेसनमा पनि सङ्क्रमण बढेको हो कि भन्ने कुरा आइरहेकोमा होम आइसोलेसनलाई संस्थागत आइसोलेसनमा लैजानु राम्रो हुने उहाँले बताउनुभयो । फ्रन्टलाइनमा बसेर काम गर्ने चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीलाई पीपीई, पञ्जालगायतका आवश्यक स्वास्थ्य सामग्रीको अभावमा सङ्क्रमणको खतरा हुने भएकाले त्यसमा कमी हुन नदिन उहाँले निर्देशनसमेत दिनुभयो ।

अहिले नउठ्नेजति फोनहरू हटलाइन भएको भन्ने आमनागरिकको गुनासो रहेको बताउनुहुँदै उहाँले हटलाइन फोनहरूमा पालो लगाएर भए पनि मानिस तयारी अवस्थामा हुनुपर्ने स्पष्ट पार्नुभयो । देशभरिको अस्पताल, प्रशासन, प्रहरी अधिकारीहरूसँग ‘हटलाइन’ हुनुपर्ने उहाँले बताउनुभयो । मानिस अप्ठ्यारोमा परेको बेला अस्पतालमा सम्पर्क मात्र भएमा पनि उपचार पाउने अपेक्षा र आशा बढ्ने उहाँले बताउनुभयो ।

“आमनागरिकलाई रेम्डेसिभिरको उपलब्धता र उचित मूल्यको प्रत्याभूति हामीले गर्नुपर्छ,” उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमितको उपचारका क्रममा प्रयोग भइरहेका रेम्डेसिभिरलगायतका औषधिको प्रयोगबारे आमनागरिकलाई सचेत गराउन आवश्यक छ । अहिले मानिसलाई रेम्डेसिभिर केके न हो भन्ने लागिरहेको अवस्थामा यो त्यस्तो खालको होइन भने विषयमा सजग गराउन आवश्यक छ । ” रेम्डेसिभिर पर्याप्त मात्रामा उपलब्ध छ र उचित मूल्यमा पाइन्छ भन्ने प्रत्याभूति हुने गरी काम गर्न उहाँले सम्बन्धित सबैसँग आग्रह गर्नुभयो ।

हाम्रो स्वास्थ्य प्रणाली नै खत्तम भयो भन्नेजस्ता नकारात्मक अभिव्यक्ति नदिनसमेत उहाँले आग्रह गर्नुभयो । “समस्या केही छन् होला तर खत्तम भएको होइन, एक वर्षमा मुलुकको स्वास्थ्य क्षेत्रमा धेरै सुधार भएको छ ” उहाँले भन्नुभयो “एक वर्षअघिसम्म पीसीआर परीक्षण गर्ने एउटा पनि प्रयोगशाला नभएको ठाउँमा अहिले ८६ वटा सञ्चालनमा आउनु स्वास्थ्य क्षेत्रको ठूलो उपलब्धि हो । ” गोरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here