अनलाइन मार्फत सेयर कारोबार गर्ने लगानी कर्ता ६ लाख नागे अब को बजार अवस्था यस्तो छ

0
225

काठमाडौँ : सेयर कारोबार को दोस्रो बजार  अनलाइनमार्फत सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या ६ लाखभन्दा बढी पुगेको छ । यो गत मंगलबारसम्मको तथ्यांक हो । कोभिड–१९ को दोस्रो लहरको संक्रमणबाट बच्न गरिएको निषेधाज्ञापछि अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या ह्वात्तै बढेको नेप्सेले जनाएको छ । ‘हालसम्म अनलाइनमार्फत कारोबार गर्न ६ लाखभन्दा बढी लगानीकर्ताले युजरनेम र पासवर्ड लिएका छन्,  नेप्सेको तथ्यांकमा उल्लेख छ, ‘पछिल्ला दिनमा युजरनेम र पासवर्ड लिनेको संख्या बढ्दो छ ।’

निषेधाज्ञाका कारण सर्वसाधारणलाई हिँडडुलमा अवरोध भएको, लगानीका अन्य क्षेत्र सञ्चालन हुन नसकेको, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अनलाइन कारोबारका लागि प्रोत्साहन गरेकोलगायत कारण अनलाइन कारोबारका लागि ‘युजरनेम र पासवर्ड’ लिने संख्या बढेको नेप्सेले जनाएको छ । खासगरी अघिल्लो लकडाउनयता अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या तीव्र रूपले बढ्न थालेको थियो ।

लकडाउन खुकुलो भएपछि पनि अनलाइन कारोबारका लागि युजरनेम र पासवर्ड लिने लगानीकर्ताको संख्या बढिरहयो । यसैबीच कोभिडको दोस्रो लहरको संक्रमण बढेपछि पुनः निषेधाज्ञा भएको छ । यो अवधिमा अनलाइनमार्फत कारोबार गर्ने लगानीकर्ताको संख्या पनि बढेको नेप्सेले जनाएको हो । ‘हाल दैनिक कुल कारोबारमध्ये ९० प्रतिशत बढी अनलाइनमार्फत हुँदै आएको छ,  नेप्से स्रोतले भन्यो, ‘यो क्रम बढ्दो छ ।

कोभिडको संक्रमणबढेसँगै नियामक निकाय धितोपत्र बोर्डले पनि ब्रोकरलाई सम्भव भएसम्म अनलाइनमार्फत कारोबारको व्यवस्था मिलाउन, बढीमा ३ जना कर्मचारी मात्र कार्यालयमा उपस्थित गराउन र लगानीकर्तालाई अनलाइनमार्फत कारोबार गर्न निर्देशन दिएको छ । यसले पनि अनलाइन कारोबारलाई थप प्रोत्साहन मिलेको जानकारहरू बताउँछन् ।

निषेधाज्ञाका कारण अर्थतन्त्रका धेरै क्षेत्र ठप्प छन् । तर सेयर बजार भने खुला छ । बाहिर निस्कन नपर्ने, आफू रहेकै स्थानबाट अनलाइनमार्फत कारोबार गर्न सकिने भएकाले पनि अहिले सेयर बजारमा सकारात्मक प्रभाव परेको बताइएको छ । यही कारण नेप्सेले हरेक दिनजसो नयाँ रेकर्ड बनाउँदै आएको छ ।

यसअनुसार गत मंगलबारसम्म नेप्से परिसूचक हालसम्मकै उच्च २ हजार ७ सय ९३.८९ विन्दुमा पुगेको थियो । यो साता बुधबारबाहेक बाँकी ४ दिन नेप्से परिसूचक बढेको छ । सो अवधिमा नेप्से करिब १ सय १६ अंक बढेको थियो । बुधबार भने नेप्से १३ अंकले घट्यो । सोही कारण बिहीबार नेप्से २ हजार ७ सय ८७ विन्दुमा पुगेर साप्ताहिक कारोबार बन्द भएको थियो ।

नेप्सेका अनुसार यही जेठ ४ (गत मंगलबार) मा हालसम्मकै उच्च १ लाख १५ हजार कारोबारमा ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार रुपैयाँ बराबरका २ करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता सेयर किनबेच भए । ‘सो दिन कारोबार रकम, कारोबार संख्या तथा बजार परिसूचकका आधारमा धितोपत्रको दोस्रो बजारमा कायम भएको नयाँ कीर्तिमान हो,’ नेप्सेको विज्ञप्तिमा उल्लेख छ ।

नेप्सेले २०७५ कात्तिक २० गतेबाट पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएको हो । त्यसपछि दोस्रो बजारका प्रमुख सूचकमा क्रमिक सुधार हँदै आएको नेप्सेले जनाएको छ । दोस्रो बजारमा लगानीकर्ताको संख्या बढेसँगै जोखिम पनि बढ्ने भएकाले संयमित हुने नेप्सेले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here