मेस्सी ले सनिबार हुने अन्तिम खेल नखेल्ने

0
197

यस सिजनको स्पेनिस ला लिगा फुटबल प्रतियोगिताका अन्तिम खेल शनिबार हुँदै छ । ला लिगाको उपाधि होडबाट बाहिरिएको बार्सिलोनाले कप्तान लियोनल मेसीलाई आराम दिएको हो । बार्सिलोनाले रेलिगेसनको जोनमा रहेको इबरसँग खेल्दै छ । अर्को महिनाबाट दक्षिण अमेरिकामा कोपा अमेरिका फुटबल प्रतियोगिता हुँदै छ । सो प्रतियोगितामा सहभागिता जनाउन आराम चाहिएकाले मेसीलाई स्पेनिस ला लिगाको अन्तिम खेलमा सहभागी नगराइएको बार्सिलोनाले जनाएको छ । 

बार्सिलोना र मेसीबीचको सम्झौता पनि सकिन लागेको छ । बार्सिलोनाले मेसीलाई पुनः क्लबमै राख्ने तयारी गरेको छ । मेसीले यस सम्बन्धमा अन्तिम निर्णय दिइसकेका छैनन् । मेसीको चाहना नै कोपा अमेरिकामा अर्जेन्टिनालाई उपाधि दाबेदार बनाउनु नै हो । कोरोना भाइरसका कारण कोपा अमेरिका एक वर्षमा हुन लागेको हो । यस वर्ष १३ जुनदेखि १० जुलाईसम्म कोपा अमेरिका अर्जेन्टिनामै हुँदै छ । 

योपटक कोपा अमेरिकामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह एमा आयोजक अर्जेन्टिना, बोलिभिया, उरुग्वे, चिली र पाराग्वे छन् । समूह बीमा कोलम्बिया, ब्राजिल, भेनेजुएला, इक्वेडर र पेरु रहेका छन् । दुवै समूहका शीर्ष चार टोली सीधै क्वार्टरफाइनलमा प्रवेश गर्ने छन् । 

स्पेनिस लिगको उपाधि र रेलिगेसन टोलीको शनिबारै छिनोफानो हुनेछ । उपाधि होडमा एट्लेटिको म्याड्रिड र रियल म्याड्रिडबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । शनिबार एट्लेटिकोले जित निकाले उपाधि उचाल्नेछ । एट्लेटिको बराबरी वा पराजित भए रियल म्याड्रिडसमक्ष उपाधि रक्षा गर्ने बाटो खुल्नेछ । एट्लेटिको पराजित हुँदा रियल म्याड्रिडले अन्तिम खेल जित्दा उपाधि जित्नेछ । 

एट्लेटिको म्याड्रिडले अन्तिम खेलमा रियल भालाडोलिडविरुद्ध खेल्नेछ । रियल म्याड्रिडले भिल्ला रियलको सामना गर्नेछ । भालाडोलिड अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । भालाडोलिड लगातार तीन खेलमा हारको सामना गरेको छ । भालाडोलिडलाई रेलिगेसनबाट बच्न २ अंकको आवश्यक रहेको छ ।

यसकारण एट्लेटिको म्याड्रिडविरुद्ध भालाडोलिडलाई जितबाहेक अन्य विकल्प छैन । यता ओसासुनामाथि जित निकाली पाँचौँ स्थानमा रही रियल सोसिडाड युरोपा लिगको लागि छनोटको चाहना राख्छ । रियल बेटिस पनि युरोपा लिगमा छनोट हुने मनसायका साथ प्रतिस्पर्धा गर्दै छ । बेटिसले सेल्टा भिगोविरुद्ध प्रतिस्पर्धा गर्दै छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here