पृथ्वी जस्तो छ त्यस्तै राखौं, नभए हामी पनि डाइनोसर हुनेछौं

0
206

हामीलाई बाँच्न कमिला चाहिन्छ, तर कमिलालाई मानिस चाहिँदैन’

संसारभर ‘सामाजिक व्यवहार र आनुवंशिक गूणको’ बारेमा फरक धारणा राख्ने हार्वर्ड जीव वैज्ञानिक एडवर्ड ओसबोर्न विल्सनको माथिको भनाइबाट पनि बुझ्नसकिन्छ जैविक विविधताको महत्वको बारेमा।  हुन पनि गरिव देशहरुको अर्थतन्त्रको करीव ८० प्रतिशत र विश्व अर्थतन्त्रको ४० प्रतिशत स्रोत र नै यिनै जैविक वस्तुहरुमा निर्भर गर्छ।

जैविक विविधताको यही महत्वलाई बुझाउनको लागि जैविक विविधता महासन्धि (CBD) कार्यान्वयन भएको दिन डिसेम्बर २९ मा “अन्तर्राष्ट्रिय जैविक विविधता दिवस (International Biodiversity Day)”  मनाउन थालियो।

नयाँ  वर्ष र क्रिसमसको माहोल परेकोले सन् २००० देखि भने हरेक वर्ष सन्धीमा हस्ताक्षर भएको दिनको सम्झनामा आजको दिन (May 22) लाई  “अन्तर्राष्ट्रिय जैविक विविधता दिवस” को रुपमा मनाउने घोषणा संयुक्त राष्ट्र संघको महासभाले गरेको थियो।

यसै बमोजिम आज  “हामी समाधानका भागहरु हौ (We’re part of the solution)”  भन्ने नाराका साथ यो वर्षको अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइँदैछौ। गत बर्ष  “हाम्रा समाधानहरु प्रकृतिमा छन्” भन्ने नाराका साथ जैविक विविधता दिवस मनाइएको थियो।

कोरोनाको महामारीका वीचमा प्रकृतिलाई नै सर्वेसर्वा मानेर “अन्तर्राष्ट्रिय जैविक विविधता दिवस” मनाइनु निकै सुखद कुरा हो। किनकि मानव जातीलाई विनासबाट जोगाउने हो भने प्राकृतिजन्य समाधानको खोजी गरिनु पर्छ।

के हो जैविक विविधता?

पृथ्वीमा रहेको जीवनको विविधता नै जैविक विविधता भनिन्छ। जैविक विविधताले अनुवांशिक तहदेखि पारिस्थितिक तहसम्म पाइने जीवजन्तु र उनीहरुको अन्तरसम्बन्धको व्याख्या गर्छ। जैविक विविधताले संसारका जल‚ स्थल‚ समुन्द्र तथा सिमसारमा सबै क्षेत्र रहेका सबै जीवित प्राणी तथा वनस्पतिवीच पाइने फरकपन‚ प्रकार तथा तिनिहरुवीचको अन्तरसम्बन्ध एवं संयोजनसमेतलाई जनाउँछ।

हाम्रो वरपर धेरै किसिमका जीवहरू हुन्छन्, जे जे छन्, तिनीहरुको अन्तरसम्बन्ध, अरुसँगको सम्बन्ध र एउटा भौगोलिक क्षेत्रमा रहेका सम्पूर्ण जीवहरुविचमा हुने समष्टिगत सम्बन्ध नै जैविक विविधता हो। त्यसैले पारिस्थितिक तथा भौगोलिक विविधताको उपज नै जैविक विविधता मान्ने गरिन्छ।

कुनै एउटा भौगोलिक क्षेत्रमा पाइने जीवहरुवीचको अन्तरनिर्भरता, जीव र वातावरण वीचको दोहोरो सम्बन्ध र समस्त जीव र निर्जीवबस्तुहरुको बीचमा भएको जटिल नेटवर्कहरूलाई इकोसिस्टम (पर्यावरण) भनिन्छ। यही इकोसिस्टमले हामीलाई फेर्ने सास देखि बस्ने वासस्थान सम्म दिन्छ।

हिजो पृथ्वीमा राज्य गरेर बसेका डाईनोसर विलुप्त भएपछि नै मानिस जातिको विकास सम्भव भएको हो। तिनै मासिएका जिवहरुमा पाइने तत्वहरुले आज हाम्रो शरीर बनेको छ। त्यसरी नै जब मानव जातिको विनास हुन्छ तब अर्को शक्तिशाली जातिको जन्म हुन्छ र पृथ्वी आफ्नै ढंगले चलिरहन्छ।

हामीलाई चाहिने पानी, हावा पनि यिनै इकोसिस्टमहरूले शुद्ध बनाएर दिन्छ। हाम्रो दैनिक जिवनयापनका हरेक गतिविधिहरु, खाध्यान्न, अर्थब्यवस्था, सभ्यता यिनै इकोसिस्टम सेवाहरूको उपज मानिन्छ।

पृथ्वी पनि एउटा ठूलो इकोसिस्टम हो। जीवशास्त्रीहरुले पृथ्वीमा हुन सक्ने अनुमान गरिएको करिब १ देखि २ करोड प्रजातिमध्ये करिब १९ लाख जीव तथा वनस्पतिका प्रजाती पत्ता लगाइसकेका छन्।

यिनीहरु मध्ये मानवजाति एक प्रजाती मात्र हो। अझै ठूलो संख्यामा प्रजातिहरु पत्ता लगाउन बाँकी नै छन्। ती मध्ये कतिपय त मानिसले थाहा नपाईकनै विलुप्त भैसकेका वा हुने क्रममा छन् ।

नेपाल र हाम्रो जैविक विविधता

नेपालले संसारमा ज्यादै नगन्य भौगोलिक क्षेत्र ओगटेको छ, करीब ०.१ प्रतिशत, तर जैविक विविधताको हिसाबले भने हामी निकै महत्वपूर्ण भूमिकामा छौं। जैविक विविधताले भने एशिया माथिल्लो ११औ स्थान र सम्पुर्ण विश्वमा २५औ स्थान रहेको छ।

विश्वमा पाइने कुल जीव प्रजातिको १.१ प्रतिशत र कुल वनस्पति प्रजातिको ३.२ प्रतिशत नेपालमा पाइनुले पनि हामी जैविक विविधतामा कति धनी छौं प्रष्ट देखाउँछ।

सन् २०१७ मा प्रकाशित तथ्याङ्क अनुसार नेपालमा ७ हजार जातका फूलफुल्ने र ५ हजार जातका फूल नफुल्ने विरूवाहरू गरी झण्डै १२ हजार वनस्पति पाइन्छन्।  त्यसैगरि ८८६ जातका चरा, २३० माछा, २१२ स्तनधारी जीब, ६५१ पुतली, ४ हजार मोथ (पुतली जस्तै) किरा, ५ हजार अन्य किराफट्याङ्ग्राहरू गरि झण्डै १२ हजार जातका जीवजन्तु पाइने उल्लेख छ।

यी मध्ये कतिपय त रैथाने जातका प्रजातिहरु छन्, जो नेपाल बाहेक अन्त कतै पाइँदैनन्। नेपालमा पाइने ३१४ प्रजातिका फूलफुल्ने वनस्पति, १६० प्रजातिका जनावरहरू, २४ प्रजातिका उभयचर, १६ प्रजातिका माछाहरू संसारमा अन्त कतै पाइँदैन । हामीले नजोगाए यिनीहरुलाइ कसैले जोगाउन सक्दैन। नेपालबाट विनास हुनु भनेको संसारबाटै सधैको लागि हराउनु हो।

मानिस र जैविक विविधता

मानिस प्रजाति पनि पृथ्वीको जैविक विविधताको एक अंग हो।  जैविक विविधता विना मानिस केहि निमेषमा नै सखाप हुन्छ तर यसको उल्टो मानिस नरहे बरु जैविक विविधता रहिरहन्छ र पृथ्वी अनवरत चलिरहन्छ।

विभिन्न अध्ययनहरुको अनुसार मानिस प्रजातिको उत्पति हुदाँताका पृथ्वीमा जति जीवजन्तु थिए, ती मासिएर आज झण्डै १० प्रतिशत मात्रै जीवित रहेका छन्। यसको मुख्यकारण पछिल्ला वर्षहरुमा बढ्दै गएको मानव केन्द्रित प्राकृतिक अधिक दोहन नै हो।

जैविक विविधता मासिने क्रम हालैका दिनहरुमा निकै कहाली लाग्दो दरले बढिरहेको छ। साढे ६ करोड बर्ष पहिले उल्कापिण्ड पृथ्वीमा ठोकिएर डाइनोसर लगायत धेरै प्रजाति मासिने दर भन्दा आज जीवजन्तु मासिने दर हजारौ गुनाले धेरै छ।

युरोपियन युनियनले गरेको अनुमान अनुसार प्राकृतिक रुपमा जीवविनास हुने दर भन्दा सय देखि हजार गुना बढी दरले विनास भइरहेकोछ। युरोपमा मात्र हेर्ने हो भने पनि हरेक ५ मा २ स्तनधारी, हरेक ७ मा २ चरा र हरेक २ मा १ पुतलीको जाति विनासको मुखमा पुगेको छ।

हिमाली फ्याउरो लिङ्स र रातो लोखर्के त अबको केही दशक मात्र बाँच्न सक्ने अनुमान युरोपियन युनियनले सन् २०१० मै गरेको थियो।
सन् २०१६ मा विश्व वन्यजन्तुकोषले गरेको अध्ययन अनुसार सन् १९७० देखि आजसम्म करीब ५८ प्रतिशत जैविक विविधता विनास भैसकेको छ।

चालिस बर्षको समयमा ७६ प्रतिशत पानीमा बस्ने प्रजाती, ३९ प्रतिशत जमिनमा बस्ने प्रजाती र ३९ प्रतिशत समुन्द्रजीवहरु पनि मासिइसकेका छन्। विनासको क्रम झण्डै ८३ प्रतिशत पुगेको छ दक्षिण अमेरिकी देशहरुमा।

जैविक विविधताको विनासले एकातिर प्राकृतिक प्रणाली नासिदै छ भने अर्को तिर बाचेका जीबहरुको लागि पनि वातावरण असहज बन्दैछ। कुन जीव कतिखेर संकटापन्न अवस्थामा पुग्छ अनुमान गर्न कठिन भएको छ।

विनासको मुख्य कारणः मानव प्रजाति

मानव जाति आफूलाई अरु जीवजाती भन्दा उच्चतम ठान्ने गर्छ परिणामतः आफ्ना गतिविधिले अर्को जातिको विनासको गराँउछ। आफनो लागि अरु जीवजन्तुको विनास गर्न खोज्नु भनेको मानिस आफ्नै विनासको बाटोमा हिड्नु नै हो । जबसम्म मानिसले ‘कमिला वा मौरी विना आफू बाच्न सक्दैन तर मानवजाती बिना संसार चलिरहन्छ’ भन्ने बुझ्न सक्दैन तब सम्म प्राकृति स्रोतमाथिको दोहन बढिरहन्छ ।

मानव प्रजातिको उत्पति भएको करीव सवा लाख बर्षको छोटो समयमा आफ्नै गतिविधिले विनासको बाटो समातिसकेको छ। आफू मात्र होइन मानव जाति भन्दा पहिलेदेखि नै पृथ्वीमा रहेका जीवजन्तुलाई पनि विनास गराउँदैछ। जैविक उत्पत्तिको इतिहास हेर्ने हो भने मानव प्रजाति उत्पत्ति अघि देखापरेका जीवहरु मानवजातिको विकाससँगै हराउन शुरु गरेका थिए।

मानवीय क्रियाकलापका कारण कैयन जीवहरुको वंश नै विनास भैसकेका छन् भने कतिपय संकट उन्मुख भएका छन्। मानवजन्य गतिविधिले वातावरणमा पारेको सबैभन्दा खराब असर भनेको वन्यजन्तुको बासस्थान विनास एक हो। खेतिपाती र बढ्दो शहरीकरणले घना जंगलहरु कंङ्क्रिटको बस्तिमा परिवर्तन भइरहको छ।

वैज्ञानिकहरुका पछिल्लो अनुमान अनुसार वासस्थान विनासको कारण दैनिक १५० प्रजातिका जीवहरू (बार्षिक ५५ हजार) मासिइरहेका छन्। मासिने क्रम यही गतिले बढेमा सन् २०५० सम्ममा हामीसँग अहिले भएका वनस्पति र जीवजन्तु घटेर आधा मात्रै रहने छन्।

हामीले नजोगाए के हुन्छ?

भौगोलिक रुपमा संसारमा झण्डै ३० प्रतिशत ढाक्ने १२ देशहरुले कारीब ८० प्रतिशत जैविक विविधतालाई समेट्छ। यी देशहरुमा मुख्यतः दक्षिण अमेरिकी देशहरु जस्तै ब्राजिल, कोलोम्बिया, पेरु, इक्वेडर, भेनेजुयला, दक्षिण अफ्रिका, बोलिभिया र इण्डोनेसिया, चिन, मेक्सिको, अष्ट्रेलिया जस्ता देशहरु पर्दछन्।

धेरै जैविक विविधता भएका साना भौगोलिक क्षेत्रहरुलाई हटस्पट भनिन्छ। यस्ता हटस्पटहरुमा १५ सय भन्दा बढि ईन्डेमिक (त्यहि क्षेत्रमा मात्र पाइने) प्रजाती पाइन्छ भने करीब ३० प्रतिशत प्राकृतिक वनस्पति पाइने गर्छ।

संसारभरिमा ३६ हटस्पट क्षेत्रहरु छुट्याइएका छन्। यी क्षेत्रले करीव २ दशमलव ४  प्रतिशत क्षेत्र ढाकेको छ तर करीव ४३ प्रतिशत चरा, स्तनधारी र ऊभयचरहरुलाई बासस्थान दिएको हुन्छ। यस्ता जैविक विविधताको हिसाबले महत्वपूर्ण बासस्थानको विनास हुनु भनेको समस्त जीवजन्तु, वनस्पति र मानव प्रजातीको विनास हुनु हो।

अहिले हाम्रो वरपर भएका जीवजन्तु र वनस्पति हाम्रालागि ज्यादै महत्वपूर्ण हुन्छन्। हाम्रो जिन्दगीको हरेक पलमा यसको प्रत्यक्ष्य वा अप्रत्यक्ष्य भूमिका खेलेको हुन्छ। हामी सबै एउटै डुङ्गामा सवार यात्री भएकोले हात्ती वा बाँदर वा यस्तै अन्य जीव मासिँदा मानिसलाई पनि अवश्य असर पर्छ। यो असरले सिधै मानिसको विनास त नगर्ला तर विनासको बाटोमा हिडाँउछ।

हिजो पृथ्वीमा राज्य गरेर बसेका डाईनोसर विलुप्त भएपछि नै मानिस जातिको विकास सम्भव भएको हो। तिनै मासिएका जिवहरुमा पाइने तत्वहरुले आज हाम्रो शरीर बनेको छ। त्यसरी नै जब मानव जातिको विनास हुन्छ तब अर्को शक्तिशाली जातिको जन्म हुन्छ र पृथ्वी आफ्नै ढंगले चलिरहन्छ।

जन्मनु र मर्नु प्राकृतिक नियम नै हो। जन्मनु र मर्नु वीचमा गर्नु पर्ने यावत् गतिविधिहरु पनि प्राकृतिक नै हुनुपर्छ। समय अनुसार परिवर्तन हुनु पनि सामान्य हो र यिनै परिवर्तनहरुले बिस्तारै जीवहरुलाई फरक देखाउछ र लामो अन्तरालमा नयाँ जीवको जन्म हुन पुग्छ।

प्रकृतिको यो नियम र गति सबै जीवलाई समान रुपमा लागू हुन्छ । यो गति र नियम परिवर्तनशील छ र यसलाई रोक्न सकिन्न। प्रकृतिको नियम र गतिले पृथ्वीमा भएका सबै जीव जन्तुलाई उत्तिनै महत्व दिन्छ र सहअस्तित्वलाई स्वीकार्छ।

हामीले जति चाडै हाम्रो वातावरणलाई परिवर्तन गर्छौ, त्यति नै चाडै मानवजातिको विनास हुने कुरामा शंका छैन। वातावरणीय परिवर्तनको गतिलाई ढिलो गराउन सक्यौ भने मानवजातिले पनि पृथ्वीमा लामो समय राज गर्न पाँउछ, नभए हामी पनि प्राकृतिक शिकार भएर डाइनोसर जस्तै विलुप्त हुन्छौं।

के गर्न सक्छौं त हामी?

कुनै देश, जनता वा कुनै क्षेत्रले मात्र समग्र जैविक विविधताको संरक्षण गर्न सम्भव छैन । मानिसको आफ्नो देश होला, वन्यजन्तु र वनस्पतिको कुनै देश हुदैन, पुरै पृथ्वी उनीहरुको घर हो । हामी आफ्नो भौतिक सुख सुविधाको लागि प्राकृतिक स्रोतको अधिक दोहन गर्छौं।

फलस्वरुप प्राकृतिक बासस्थानको विनास हुन्छ र जीवजन्तु मासिन पुग्छन् वाँचेकाहरु अर्को वासस्थानको खोजिमा भौतारिँदा उत्परिवर्तनको शिकार हुन्छन्। त्यसैले जैविक सहअस्तित्वको सिध्दान्तमा आधारित भएर प्राकृतिक स्रोतको बुध्दिमतापूर्ण प्रयोग गर्नुपर्छ।

परम्परागत रुपमा चलिआएको प्राकृतिक स्रोत र साधनको निर्भरतालाई घटाउदै दिगो संरक्षणका लागि वैकल्पिक पेशाहरुको पहिचान गरि आर्थिकरुपमा सबल बनाउन सक्नु पर्छ। यसका लागि जनजाति, स्थानिय समुदाय, संरक्षण समुह, सरकारी तथा गैरसरकारी समुहको समन्वयात्मक भावनाको खाँचो छ।

अहिलको विश्वको जल्दोबल्दो समस्याको रुपमा रहेको विश्व उष्णिकरण, वनविनास, मरुभुमिकरण, हरितगृह प्रभाव, बढ्दो उर्जाको खपत, भुमिगतजल विनास, ओजनको क्षयीकरण, वायुप्रदुषण, सिमसार क्षेत्रको विनास, खाध्य असुरक्षा, बढ्दो वनडढेलो जस्ता समस्याहरुलाई सम्बोधन गर्नको लागि अन्तरदेशीय, क्षेत्रीय तथा अन्तराष्ट्रिय शक्तिको निर्माण गरी जतिसक्दो प्रयास शुरु गर्नुपर्छ।

मिचाहा प्रजातिका वनस्पतिको व्यबस्थापन पनि निकै समस्या बन्दै गइरहेको छ। गएको ५० बर्ष भित्र ७० प्रतिशत मिचाहा जीवले १५ जातभन्दा बढि स्थानीय वनस्पतिलाई सङ्कटमा पारिरहेको तथ्याङ्कले देखाउछ। स्थानीय वनस्पति विनास हुनु भनेको भोलीको वंशाणु स्रोतको क्षति हुनु हो।

संरक्षणको पहिलो र अन्तिम उपभिक्ता नै स्थानिय समुदाय हो। स्थानीय जनसमुदायसँग भएका परम्परागत् ज्ञानको पहिचान गरि, प्राकृतिक स्रोत सदुपयोगबाट आउने फाइदाको केहि अंश बाँडफाँड हुने कुराको सुनिस्चितता प्रदान गर्न सकेका मात्र जैविक विविधताको संरक्षण सम्भव छ। अपनत्व र संरक्षणको बोध नभएसम्म जैविक विविधता संरक्षणमा जनसहभागितामा प्रभावकारी हुँदैन ।

अन्त्यमा यो वर्ष ‘अन्तर्राष्ट्रिय जैविक विविधता दिवस’ को नाराले भनेको जस्तै ‘हामी समाधानका भागहरु हौ’। समाधान हामीले ले नै निकाल्ने हो किन भने समस्या पनि हामी नै हौं। हाम्रा समाधानहरु यहि प्रकृतिमा नै छन् यसलाई उपयोग गर्न जान्नुपर्यो।

हामीले जैविक विविधताको समुचित उपयोग र व्यबस्थापन गर्न सकेनौ भने आउने पुस्ताले हामीलाई विध्वंसकारी संहारकको रुपमा चिन्नेछ। हामी संरक्षक बन्ने कि संहारक हाम्रै हातमा छ।

(लेखक त्रिभुवन विश्वविध्यालयमा अनुसन्धानरत छन्)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here